एमसिसी विरोधका ‘स्टाटस’ हटाउन माधव नेपालको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २५, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन २५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा लेखिएका ‘स्टाटस’ हटाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

बुधवार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी बहुमतको निर्णय मान्नुपर्ने बताउँदै एमसिसीविरुद्धमा लेखिएका स्टाटस हटाउन निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालले निर्देशनलाई नमानी एमसिसीको विरोधमा लेखिरहे स्पष्टीकरण सोध्ने अवस्था आउने चेतावनी समेत दिए । उनले व्याख्यात्मक घोषणासँगै एमसिसीमा रहेका सबै अस्पष्टता हटेको दाबी गरेका छन् ।

यस्तै‚ उनले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको वैधानिकता अन्त्य गर्ने प्रयास गरेको बताएका छन् । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसिसीको नाममा गठबन्धन तोड्न‚ एकीकृत समाजवादीको वैधानिकता अन्त्य गर्नुपर्ने प्रस्ताव राखेको नेपालको भनाइ छ ।

‘अहिले पनि पाँच दलीय सत्ता गठबन्धनका दलको विश्वास कायमै छ । गठबन्धन तोड्न षड्यन्त्र भएको थियो‚’ अध्यक्ष नेपालले भने‚ ‘एमसिसीको नाममा ओलीले प्रधानमन्त्रीसँग गठबन्धन तोड्न, हामी १४ जना र सभामुखलाई कारवाही गर्ने, हाम्रो पार्टीको वैधानिकता अन्त्य गर्नुपर्ने सर्त राखे । त्यसपछि एमसिसीमा निःशर्त समर्थन गर्ने भनेका थिए । तर, हामीले एमसिसीको समस्या समाधान गरेका छौँ ।’

उनले स्थानीय तहको निर्वाचन आइसकेको हुनाले त्यहाँ केन्द्रित भएर लाग्न निर्देशन समेत दिएका छन् । ‘यो बैठक महत्वपूर्ण छ। अब हामी निर्वाचनको तयारीमा लाग्नुपर्छ‚’ अध्यक्ष नेपालले भने, ‘गठबन्धन दलमा छलफल भइरहेको छ । निर्वाचनमा पनि मिलेर जाने। सबै ठाउँमा नसके जति ठाउँमा सकिन्छ मिलेर जाने । त्यसैले कुन ठाउँमा कस्तो शक्ति कति छ भनेर त्यसको बैठकपछि परिचालित हुनेछौँ । ७७ वटै जिल्ला र ७५३ वटै पालिकामा पुग्नुपर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस