कांग्रेसको चुनावी अभियान: एमसिसीको भ्रम चिर्ने, कोरोना खोपको प्रचार गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २५, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन २५, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीत एकमहिने अभियान सुरु गरेको छ । ‘घर-घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत फागुन २९ देखि चैत २९ सम्म १ महिनाको लागि चुनावी अभियान सुरु गर्न लागेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

एकमहिने अभियानमा कम्युनिष्ट नेतृत्वमा केपी ओलीले सञ्चालन गरेको ३ वर्षे कार्यकालको भण्डाफोर गर्नेदेखि अमेरिकी सहयोग परियोजना एमसिसीबारे जनतामा पर्न गएको नकारात्मक भ्रमलाई चिर्नेसम्मको योजना लिइएको उनले बताए । यो अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको महतले बताए ।

स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उनले बताए । ‘स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्नेदेखि कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अपिल गर्ने उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने, नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने, कोरोनाविरुद्धको खोप सहज भएको लगायत राम्रा कामको प्रचार गर्ने ।’ प्रतिपक्षमा रहेपनि संविधान रक्षाका लागि बाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा कांग्रेसलाई ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्‌’ भन्ने कुरा सबै सुन्नको लागि कार्यक्रम प्रभावकारी हुने उल्लेख गरेको छ । ​

ताजा अपडेट

खोजी गर्नुहोस