ह्वाट्टै बढ्यो व्यापार घाटा, आठ महिनामा १३ खर्ब ८ अर्बको आयात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र ८, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ८, काठमाडौं । आलु आर्थिक वर्षमा व्यापार घाटा ह्वाट्टै बढेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार रु १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको पुगेको छ । गत आवको पहिलो आठ महिनामा रु. १० खर्ब २४ अर्ब ७६ करोड रहेको वैदेशिक व्यापार चालु आवमा ४२.१३ प्रतिशतले बढेको हो ।

वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकको व्यापार घाटा अघिल्लो आवको पहिलो आठ महिनाको तुलनामा चालु आवमा ३४.५० प्रतिशतले बढेर रु. ११ खर्ब ६० अर्बभन्दा धेरै पुगेको छ । गत आवको फागुन मसान्तसम्म यस्तो घाटा रु. आठ खर्ब ६३ अर्ब माथि थियो ।

विभागका अनुसार गत आवको पहिलो आठ महिनाका आधारमा मुलुकमा आयात ३८.६४ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्ममा रु. नौ खर्ब ४३ अर्ब मूल्य बराबरको आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात रु. १३ खर्ब आठ अर्ब पुगेको छ ।

त्यस्तै २०७७/७८ को पहिलो आठ महिनाका तुलनामा चालु आवको निर्यात ८२.९० प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म रु. ८० अर्ब ७७ करोड बराबरको निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा रु. एक खर्ब ४७ अर्ब बढीकोे निर्यात भएको छ ।

सार्वजनिक विवरणअनुसार गत आवको पहिलो आठ महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.१२ प्रतिशत रहेकामा यस्तो हिस्सा २.४५ प्रतिशतले घटेर चालु आवमा ८९.८६ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८.६९ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा सात दशमलव ८८ प्रतिशत रहेकामा चालु आवमा १०.१४ प्रतिशत पुगेको छ ।

चालु आवको आठ महिनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै छ । यस आवको फागुन महिनासम्म मुलुकमा रु. ८७ अर्ब ८३ करोड मूल्यभन्दा धेरैको डिजेल भित्रिएको छ । त्यस्तै एलपी ग्यास रु. ४० अर्ब ६४ करोड बराबरको तथा पेट्रोल रु. ३९ अर्ब ८५ करोड बढीको भित्रिएको विभागले जनाएको छ ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याङ्कअनुसार स्वदेशबाट रु. ४१ अर्ब ४० करोड मूल्यभन्दा बढीकोे भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ । जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाएको छ ।

त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेल जस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रसोधनपश्चात निर्यात हुने गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आवको पहिलो आठ महिनासम्म रु. ३५ अर्ब ३३ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।

त्यसैगरी रु. नौ अर्ब ४९ करोड बराबरकोे गलैंँचा तथा टेक्सटायल, रु. पाँच अर्ब ८९ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस