चैत ९, सल्यान । राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एक्स्काभेटर पुरिदाँ सडकखण्ड अवरुद्ध बनेको छ । पहिरोबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते भएका छन् ।
सल्यानको कपुरकोट-३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला ढुंगाले बा २ क ८०७७० नम्बरको एक्स्काभेटरको केही भाग पुरिएको छ ।
अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको डिएसपी सुमित खड्काले जानकारी दिए । जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।
दाङबाट अर्को एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने अनुमान प्रहरीले गरेको छ ।