पीएनजीलाई हराउँदै नेपाल फाइनलमा, करणको ह्याट्रिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र १७, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत १७, काठमाडौँ । आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा पुगेको छ छ । करण केसीले ह्याट्रिक विकेट लिएको खेलमा बिहीबार पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।

यससँगै नेपालले आफ्नो ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा सुखद नतिजा निकालेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेले । उनले ४७ बलमा ९ चौका प्रहार गरे । खराब सुरुवात गरेको पीएनजीलाई तेस्रो विकेटको लागि चार्ल्स अमिनी र टोनी उराले ८४ रनको साझेदारी गरेपछि खेलमा फर्काएका थिए ।

२२ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै आक्रामक ४३ रन बनाएका टोनी उरालाई सोमपालको ओभरमा आउट भए । पहिलो ओभरमा करण केसीले लेगा सिएकालाई आउट गर्दै बलिङमा राम्रो सुरुवात दिलाए । करणले लेगालाई १ रनमा आउट गर्दा टी-ट्वान्टी अन्तराष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरे । सन्दीप लामिछानेपछि टी-ट्वान्टी अन्तराष्ट्रियमा ५० विकेट लिने करण पहिलो नेपाली खेलाडी बने ।

तेस्रो ओभरमा १३ रन बनाएको पीएनजीलाई करणले दोस्रो झट्का दिए । उनले कप्तान असद भालालाई १ रनमा आउट गर्दै नेपाललाई सानदार सुरुवात दिलाए । नोरमान भानुअले १७ रन बनाउँदा सेसे बाउले २५ रनको योगदान गरे । रिले हेकुरे ६ र चाड सोपर २ रनमा आउट भए ।

नेपालको जितमा करणले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १९ औं ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरे । अविनास बोहरा र सोमपाल कामी समान २/२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । दिपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदील अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो ।

नेपालले अन्तिम ३ ओभरमा ६० रन जोड्यो । दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले ।

यस्तै आदीलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए । त्यस्तै रोहित पौडेलले २३ बलमा २ छक्का र ४ चौकाको मद्दतमा ४१ रन जोडे । आसिफ शेखले २९ बलमा ३८ रन बनाउँदा कुशल भुर्तेलले १७ रनको योगदान गरे ।

पीएनजीका काबुअ मोरेअले ३ विकेट लिए । उनले अन्तिम ओभरमा नेपालको ३ विकेट लिएका थिए । यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १र१ विकेट लिए ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ । मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस