‘बनाउनेभन्दा भत्काउने काम भयो, भन्नुस् तपाईहरुबाट देशले के पायो?’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १६, आईतबार (६ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले कृषि क्षेत्रमा गरेको अनुसन्धान कृषकको माझ नपुगेको टिप्पणी गर्दै कृषि अनुसन्धान परिषद् नार्कका वैज्ञानिकको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै खनालले नार्कको प्रगतिबाट ९५ प्रतिशत असन्तुष्ट रहेको धारणा राख्दै नार्कलाई आफ्नो कार्यशैली परिवर्तन गर्न आग्रह गरेका हुन्।

‘नार्कका कर्मचारीप्रति मेरो कुनै गुनासो छैन, तर तपाईका क्रियाकलापबाट म सन्तुष्ट छैन,’ खनालले भने, ‘कृषि क्षेत्रको अनुसन्धान समान रुपमा फैलाउने काम हुन सकेन, बजेट नभएर, भिजन नभएर हो वा नेतृत्वको लडाइँ? त्यो मलाई थाहा छैन, तर बनाउनेभन्दा भत्काउने काम भयो।’

नार्कको अनुसन्धान आवश्यकताअनुसार किसानसँग नजोडिएको र किसानको घरमा नपुग्दा राष्ट्रलाई पनि फाइदा नपुगेको मन्त्री खनालले आक्रोश पोखे। ‘कि त हामीसँग पर्याप्त श्रोतसाधन र प्रयोगशाला नभएको भनेर हात झिक्न पर्यो, होइन भने तपाईहरु भएको फाइदा के?,’ मन्त्री खनालले प्रश्न गरे।

आवश्यकता अनुसार कृषि अनुसन्धान फैलाउन नसक्नुको कारण पेश गर्न पनि कृषि मन्त्री खनालले निर्देशन दिएका छन्। नार्कमा रहेका पेशागत युनियनप्रति पनि मन्त्री खनालले आक्रोश पोखेका छन्। ‘युनियनले हरेक कुरामा हस्तक्षेप गर्न खोजेको र सबै निर्णय आफैँले गर्न खोज्ने हो भने मन्त्री, मन्त्रालय र सरकार किन चाहियो?’ उनले प्रश्न गरे।

मन्त्री खनालले प्रविधिलाई कुराले नभई व्यवहारले किसानसँग जोड्न अनुसन्धानलाई केन्द्रीत गरी राज्यको आखाँमा ल्याउन आग्रह गरे। उनले जथावाभी बाली लगाएर अनुदान माग्ने मात्र परिपाटी रहेको जनाउँदै त्यसलाई पनि किसानले परिवर्तन गगर्नु पर्ने बताए।

‘अनुसन्धान बिनाका जथाभावी बाली लगाएर फाइदा हुँदैन,’ खनालले भने, ‘अनि असफलता लाग्छ र बाली लगाउन छोड्छन्, त्यसले फाइदा भन्दा घाटा बढी हुन्छ।’

यसैबीच, बाँकेको खजुरामा रेन आउट सेल्टर सञ्चालनमा ल्याइएको छ। घाम पानीबाट बिउलाई बचाउने प्रविधि रेन आउटको कृषि मन्त्री खनालले उद्घाटन गरेका हुन्।

६६ लाखको लगानीमा उक्त प्रविधि प्रयोगमा ल्याइएको हो। नेपालमा जनकपुर डोटी र खजुरा गरी तीन ठाउँमा यो प्रविधि प्रयोग गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस