प्रधानमन्त्री देउवा पुगे दिल्ली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १८, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत १८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणका लागि दिल्ली पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो साढे १ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत देउवा नयाँ दिल्ली गएका हुन् ।

चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमण गएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरे । प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, उर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, कृषि तथा पशुपंछी विकास मन्त्री महिन्द्र राय यादवसहित मन्त्रालयका सचिव, उद्योगी व्यवसायी र संचारकर्मी  छन् ।

प्रधानमन्त्री देउवाले अहिले साँझ भारतीय विदेश मन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्नेछन् । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीमा रहेको नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन् ।

भोलि विहान ११ बजे देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि दुवै मुलुकका प्रतिनिधिमण्डलस्तरीय छलफल हुने र केही सम्झौता आदानप्रदान हुने कार्यक्रम छ । लगत्तै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुर–जयनगर रेलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ ।

आइतबार विहान देउवा उत्तरप्रदेशको वाराणसी जानेछन् । त्यहाँ देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार बिहान काशी विश्वनाथ मन्दिरमा पूजाआजा गरेर साँझ दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री देउवा भारत भ्रमणका गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने गरी तोकेका हुन् । प्रधानमन्त्री देउवाकै सिफारिसमा संविधानअनुसार गृहमन्त्री खाँणलाई जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस