कांग्रेसको वडा तहमा प्रचार संयन्त्र, केन्द्रमा मिडिया सेन्टर बन्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ चैत्र १९, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत १९, काठमाडौँ । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचन लक्षित गरेर वडा तहसम्म प्रचार संयन्त्र गठन गर्ने भएको छ । निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्न कांग्रेसले वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको हो ।

केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक तथा प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगर/वडा कार्यसमितिमा आवश्यकताअनुसार प्रचार संयन्त्रको गठन गर्न निर्देशन दिइएको जानकारी दिए ।

उनले शुक्रबार बसेको समितिको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरिएको बताए ।

‘प्रदेश र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने भनेका छौँ,’ प्रवक्ता महतले भने, ‘स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्छौँ ।’

समितिले पार्टीको प्रचार–प्रसारकालागि आवश्यक प्रचार सामग्री निमार्ण गर्ने र रेडियो, एफएम, टीभी। प्रिन्ट मिडिया, अनलाइन तथा समाजिक सञ्जाल जस्ता सञ्चार माध्यमहरुबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय पनि गरेको छ ।

समितिले उक्त कार्यका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था, विज्ञ, बुद्धिजीवी, सञ्चारकर्मी र अन्य पेशागत संस्थाहरु परिचालन गर्ने तथा प्रचार सामग्री उत्पादन तथा सञ्चारका लागि आवश्यक उपसमिति गठन गर्ने निर्णय गरेको महतले जानकारी दिए ।

समितिले कांग्रेसबारे सम्पूर्ण जानकारी दिन मिल्ने गरी ‘एप’ बनाउने र त्यसलाई प्रचार प्रसारका लागि उपयोग गर्ने पनि निर्णय गरेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस