मलेसियालाई हराउँदै नेपाल फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र १९, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत १९, काठमाडौँ । नेपाल अपराजित रहदै त्रिदेशीय टी-२० श्रृङ्खलाको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्दै फाइनल पुगेको हो ।

नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया १९.५ ओभरमा १३८ रनमै समेटिएको हो । मलेसियाका लागि विरनदीप सिंहले ४७, अह्मद फैजले ३३, ऐनुल हफिजले १८ र स्येद अजिजले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले तीन, कमल ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई तथा कुशल भुर्तेल र रोहित पौडेलले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पाँच विकेटको क्षतिमा २२३ रन बनाएको थियो । नेपालका लागि ऐरीले सर्वाधिक ११० रन बनाए । उनी प्लेयर अफ द म्याच भए । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यससँगै उनी नेपालका लागि एउटै इनिङमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । यसअघि ज्ञानेन्द्र मल्लले सन् २०१४ मा १०७ रन बनाएका थिए ।

त्यस्तै, रोहित पौडेलले अर्धशतक बनाए । उनले ३४ बलमा पाँच चौकाको मद्दतले ५१ रन बनाएका हुन् । आसिफ शेखले १८, मोहम्मद आदिल आलमले १४ र कुशल भुर्तेलले १२ रन बनाए ।

मलेसियाका लागि मोहम्मद वाकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मोहम्मद अमीरले एक/एक विकेट लिए ।

नेपालसँग फराकिलो अन्तरले हारेसँगै मलेसिया फाइनलमा पुग्नबाट बञ्चित भएको छ । रेन रेटका आधारमा अगाडि रहँदै पपुवा न्युगिनी फाइलनमा पुगेको छ । एक/एक खेल जितेका पपुवा न्युगिनी र मलेसियाको दुई/दुई अंक छ ।

चारै खेल जितेको नेपालको आठ अंक भएको छ । अब सोमबार नेपाल र पपुवा न्युगिनी फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस