चैत्रमा मेलम्चीको पानी काठमाडौँ नआउने भयो

Post Thumbnail

चैत्र २२,काठमाडौँ । मेलम्चीको पानी यसै वर्ष काठमाडौँमा आउने सम्भावना करिब अन्त्य भएको छ । गत असार १ र साउन १६ गते चलेको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पुगेको थियो । खासगरी बाढीका कारण आयोजनाको टनेल तथा हेडवर्क्समा गम्भीर क्षति भएको थियो ।

मर्मतका लागि अझै केही समय लाग्ने हुँदा पानी नियमित आपूर्ति हुन पनि कुर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास बोर्डले जनाएको छ । तर, यसअघि आयोजनाले यही महिना अर्थात् चैत भित्रै मेलम्चीको पानी काठमाडौँ ल्याइसक्ने जनाएको थियो । हेडवर्क्स र सुरुङको प्रवेशद्वार पुगेको गेग्य्रान हटाउन सरकारले सेना नै परिचालन गरेको छ ।

‘नयाँ परियोजना भएको भए समय तोक्न सकिन्थ्यो, तर यो पुरानो परियोजना हो । त्यसमाथि प्रभावित आयोजनाको मर्मतको काम भएकाले यति नै समयमा पानी आउँछ भन्न सकिने अवस्था रहँदैन,’ मेलम्ची खानेपानी आयोजना प्रमुख विष्णुदेव पौडेलले भने, ‘सकभर छिटो मर्मत गर्ने र पानी आपूर्ति नियमित गर्ने प्रयासमा छौँ ।’

पौडेलका अनुसार खासगरी बाढीको प्रभाव आयोजनाको टनेल (पानी पठाउने सुरुङ) र हेडवर्क्समा परेको छ । टनेलको भित्रसम्म गेग्य्रान, ढुङ्गा, माटो तथा फोहोरहरू थुप्रिँदा सफाइमा समय लागेको पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस