मंसिर १६, काठमाडौं । कप्तान भरत खवासले दुई गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गरेको छ । यस जितसँगै अार्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
सातौं मिनेटमा टंक बस्नेतले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक किशोर गिरीले विफल तुल्याएका थिए । २१ अौं मिनेटमा विश्वास श्रेष्ठको क्रसमा कर्ण लिम्बू ६ यार्ड बक्सभित्र अनमार्क रहेपनि बल उनको टाउकोभन्दा थोरै माथिबाट बाहिरियो । लगत्तै टंक बस्नेतले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारले पोस्टशो दिशा लिन सकेन ।
अार्मीले २७ अौं मिनेटमा गोल गर्ने अर्को अवसर पायो । भरत खवासले टेकबहादुर बुढाथोकी र दिनेश हेन्जनसँग लगातार वन टु पास खेलेर पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारमा शेर्पाका कप्तान मानबहादुर तामाङले उत्कृष्ट ट्याकल गरे । त्यसको एक मिनेटमै टंकले दिएको लो क्रसमा गोलरक्षक बिट भएपनि भरतले बलसम्म पुग्न सकेनन् ।
अार्मीले लगातार अाक्रमणको दवावलाई अन्तत गोलमा परिणत गर्यो । ३३ अौं मिनेटमा सन्तोष तामाङको कर्नरमा कप्तान भरत खवासले हेडरमार्फत गोल गर्दै अार्मीलाई अगाडि बढाए । खेलको अन्तिम समयतिर दिनेश हेन्जनले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको सुरुवातमै शेर्पाले खेलमा फर्कने सुन्दर अवसर पायो । फ्रिकिकबाट अाएको बल रिबाउन्ड हुँदै ६ यार्ड बक्स नजिकबाट कर्ण लिम्बुले गरेको प्रहारलाई अार्मीका गो रकम विकेश कुथुले सुन्दर बचाउ गरे । ५८ अौं मिनेटमा कर्णको प्रहारमा फेरिपनि विकेश नै बाधक बने । त्यसै बचाउपछी अाएको रिबाउन्डमा रवी थापामगरले लामो दुरीबाट गरेको प्रहारलाई विकेशले उत्कृष्ट बचाउ गरे ।
शेर्पाका लागि ८३ अौं मिनेटमा अलरिच सिवेले गरेको प्रहार क्रसबारबाट माथि गयो । ८६ अौं मिनेटमा भरतले नै अार्मीको अग्रता दोब्बर पारे । दिनेश हेन्जनको प्रहारलाई गोलरक्षक किशोर गिरीले बताएपनि रिबाउन्डमा भरतले सहजै गोल गरे ।
लगत्तै शेर्पाले अलरिच सिवेको गोलमा अग्रता घटायो । सिवेले २५ यार्डमा टाढाबाट गरेको प्रहार डिफ्लेक्ट हुँदा विकेश झुक्किएपछि फितलो प्रहार गोल भएको थियो ।
यस जितसँगै दोस्रो स्थानमा पुगेको अार्मीले अपराजित यात्रा कायमै राखेको छ । अार्मीको ५ खेलमा ४ जित र १ बराबरीसँगै १३ अंक भएको छ । शेर्पा भने लिगमा पहिलो हार बेहोरेपछि ५ खेलमा १० अंकमा अडेको छ ।