मंसिर १६, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले आइतबार इन्डोनेसिया लिग वनअन्तर्गत बाली युनाइटेडलाई २-१ ले पराजित गरेको छ । यस जितसँगै पर्सिजा लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पर्सिजाको जितमा सान्दी दार्मा र मारियो सिमिचले १-१ गोल गरे । खेलमा रोहितले सेन्टर मिडफिल्डमा खेलाडी पुरै ९० मिनेट खेलेका थिए । सान्दीको सातौं मिनेटको गोलमा पर्सिजाले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ८४ औं मिनेटमा सिमिचले जारी लिगको व्यक्तिगत १५ औं गोल गर्दै पर्सिजाको अग्रता दोब्बर पारे ।
इन्ज्युरी समयको चौथो मिनेटमा बाली युनाइटेडका स्टेफान लिलीपालीले गोल गरेपनि उक्त गोल सान्तवना मै सिमित रहयो । यस जितसँगै पर्सिजाले ३३ खेलमा १७ जित, ८ बराबरी र ८ हारसँगै ५९ अंक जोडेको छ । दोस्रो स्थानको पीएसएमले ३२ खेलमा ५७ अंक जोडेको छ । पीएसएमले सोमबार हुने खेलमा चौथो स्थानको भयंकराको सामना गर्दैछ ।
लिगको अन्तिम खेलमा पर्सिजाले मिट्रा कुकारको सामना गर्नेछ । लिगको अन्तिमं खेल अर्को शनिबार हुनेछ । पर्सिजाभन्दा २ अंकले पछाडी रहेको पीएसएमको भने दुई खेल बाँकी छ । सोमबार भयंकरासँग खेलेपछि पीएसएमले आइतबार पीएसएमएसको सामना गर्नेछ । उपाधि होडमा रहेका पीएसएम र पर्सिजाका प्रतिद्वन्द्वी पीएसएमएस र मिट्रा कुकारलाई पनि रेलिगेसनबाट बच्न जित आवश्यक छ ।
रोहितले यस सिजन पर्सिजाले खेलेका ३३ मध्ये ३२ खेलमा सहभागिता जनाए । अब पीएसएमले कुनै खेलमा अंक गुमाएर पर्सीजाले अन्तिम खेल जितेको खण्डमा पर्सिजाले लिग उपाधि जित्नेछ । यी दुई टोलीबीच लिगमा भएका दुवै खेल २-२ को बराबरीमा टुंगिएको थियो । लिग जितको खण्डमा रोहितको टोलीले एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक छनोट चरणमा प्रतिस्पर्धा गर्न पाउनेछ ।