यस्ता छन् सत्ता गठबन्धनले बनाएका तालमेलका ७ आधारहरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ३०, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत ३०, काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखसम्बन्धी सिट बाँडफाँटको टुंगो गठबन्धनको केन्द्रीय संयन्त्रले नै गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा मङ्गलबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनले वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेल गर्ने अधिकार पालिकास्तरीय संयन्त्रलाई दिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकले नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको तालमेलको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार प्रदेश र जिल्ला संयन्त्रमा गठबन्धनमा रहेका २र२ जना प्रतिनिधि रहने छन् भने अवश्यकताअनुसार आमन्त्रित सदस्य बोलाउन सकिनेछ । स्थानीय पालिका, जिल्ला र प्रदेशका सबै संयन्त्रको बैठकको संयोजक कांग्रेस नेता रहनेछन् ।

त्यस्तै, गठबन्धनभित्र सिट बाँडफाँटका सात आधारहरु पनि तय भएका छन् । जसमा एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको प्रमुख शक्तिका रुपमा स्वीकार गरिएको छ ।

१. २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेका जनप्रतिनिधिहरुलाई त्यसै अनुसार मान्ने ।

२. २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त मतको मतभार ।

३. २०७४ को स्थानीय निर्वाचनमा विजय प्राप्त गरेको नभए तापनि स्थानीय तहमा उपस्थितिलाई यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।

४. २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने। यसको साथै उक्त तहमा दलका उम्मेदवारले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने ।

५. नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजन भएर बनेको मुख्य शक्ति भएको यथार्थलाई मनन गर्ने ।

६. गठबन्धन रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुका संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्त्वका साथ ध्यान दिने ।

७. गठबन्धनभित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने ।

ताजा अपडेट

खोजी गर्नुहोस