माओवादीको चुनावी प्रचारमा कुलमान, फोटो दुरुपयोग भएको प्रतिकृया

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ३०, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत ३०, काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी प्रचारको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ ।

माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो । ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निस्शुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ । उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ ।

प्रचण्डको फेसबुकबाट यो पोस्टर आज बिहान सार्वजनिक भएपछि निर्वाचन आचारसंहिता विपरित घिसिङको फोटो दुरुपयोग गरी चुनावी प्रचारमा प्रयोग गरेकोमा सामाजिक सञ्जालमा भने आलोचना भइरहेको छ ।

यता, माओवादी केन्द्रले निर्वाचनको प्रचारमा आफ्नो फोटो राखेपछि घिसिङले अनुमति बिना फोटो राखेको प्रतिक्रिया दिएका छन् । घिसिङले आफ्नो अनुमति बिना नै माओवादीले फोटो राखेको बताए । उनले भने, ‘मेरो अनुमति होइन, मलाई सोधेको पनि छैन’ उनले संक्षिप्त उत्तर दिए ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितामा संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस