नयाँ वर्षको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबाट शुभकामना व्यक्त

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख १, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी छन् ।

हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उनले आग्रह गरेकी छन् ।

ठूलो संख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गर्ननहुने उनको सन्देशमा उल्लेख छ । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा उनले आह्वानसमेत गरेकी छन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँवर्षको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरेका छन् ।

मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वेपरी लक्ष्य रहेको उनको भनाइ छ । साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचार र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकाङ्क्षालाई यथाशीघ्र पूरा गर्ने अभियानमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सफलता मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस