लिभरपुल र सिटी अन्तिम चारमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख १, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाडौं । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरी खेलेको लिभरपुल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।

खेलको २१ औं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई १-१ को बराबरीमा ल्याए । खेलको ५५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

६५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए । खेलको ७३ औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दा बेन्फिका ३-२ को स्थितिमा आयो ।

त्यसपछि खेलको ८१ औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो । अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै सिटी समग्रमा १-० को जितसहित अन्तिम चारमा पुगेको छ ।

घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको सिटीले १-० को जित निकालेको थियो । एट्लेटिकोको मैदानमा भएको दोस्रो लेगमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।

खेलको इन्ज्युरी समयमा फिलिपेले दोहोरो पहेलो कार्डसँगै रातो कार्ड पाएका थिए । अब सिटीले सेमिफाइनलमा स्पेनकै रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस