‘चुनावी तालमेल हितकर छैन, तर पार्टीको निर्णय मानेको छु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका दलबीच तालमेल गर्ने निर्णप्रति असन्तुष्टि जनाएका छन् ।

नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका हुन् ।

सम्बोधनका क्रममा महामन्त्री थापाले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु । मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।’

उनले संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए । गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहररुलाई पनि राम्रो नगर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताएका छन् । उनले स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताए । त्यसैले अवस्था हेरेर तालमेल गर्ने भनी निर्णय गरिएको उनको भनाइ छ ।

तल्लो कमिटीमा दलहरूबीच कुरा नमिले केन्द्रबाट हस्तक्षेप नहुने उनले बताए । ‘स्थानीयस्तरमा पार्टीबीच कुरा मिले तालमेल हुन्छ । माथिबाट थोपरेर हुँदैन । त्यसलाई कसैले मान्दा पनि मान्दैन,’ थापाले अघि भने ।

महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौं भन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने बताए । स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उनको भनाइ छ ।

‘स्थानीय चुनावमा पनि स्थानीय साथीहरूले म कोसँग मिल्छु या मिल्दिन, मेरो मतदाताले के भन्छ भन्ने कुराको निर्णय गर्न पाएन भने र माथिबाट थोपर्दा सबै बिग्रिन्छ’ उनले भने, ‘तालमेल गर्ने नगर्ने कुरा तलको कमिटीले निर्णय गर्ने हो ।माथिबाट कसैले निर्णय गर्न मिल्दैन । त्यो स्थानीय चुनावको मर्मविपरीत हुन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस