बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द: वैकल्पिक सडक प्रयोग गर्न आग्रह

बैशाख ३,काठमाडौँ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ ।

मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन आउँदो वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा गाडीको आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोकिएको छ । यसअघि गएको पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा गाडीको आवागमन बन्द गरिएको थियो ।

बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एम्बुलेन्स र बिरामी बोकेका तथा विकास निर्माणका अत्यावश्यक गाडीलाई भने सहजीकरण गरी चल्न दिइनेछ ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ ।

मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्छ । २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ ।

२०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ सालमा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले गाडीको आवतजावत प्रभावित हुने गरेको छ।

संम्बन्धित समचार

Leave a Reply