अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक १८ घण्टा सञ्चालन हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख ३, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख ३, काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालन गरिने भएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनले कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँको विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताए । उनले तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ ।

यस्तै, प्राधिकरणका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गर्न लागेको हो । धावनमार्ग सञ्चालन हुने भए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीबाट हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधाबारे विस्तृत प्राविधिक जानकारी एयर¥याक (एरोनटिकल इनर्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल) मा प्रकाशन गरीसकेको बताए ।

अब विदेशी जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन् । महानिर्देशक अधिकारीका अनुसार फागुन पहिलो सातादेखि नै विमानस्थलको टावर सञ्चालनमा आइसकेको छ । न्यारोबडी र वाइडबडीका लागि भैरहवाको धावनमार्ग तयार भएको छ । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ ।

आन्तरिक उडान राति १२ बजेसम्म सञ्चालन हुने रात्रिकालीन उडानयोग्य पूर्वमेचीदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ । नियामक प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । प्रादेशिकरुपमा आर्थिक गतिविधि बढ्नेछन् । उडान चापले यात्रा डिले हुँदा घण्टौंसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन् ।

उडान ढिलाइ भएकै कारण घण्टौँ यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले व्यहोर्नुपर्ने सास्ती हटेर जाने बताइन्छ । रात्रि उडानका लागि नेपालमा उडान भर्ने आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्ससँग छलफल भइसकेको प्राधिकरणले जनाएको छ ।

देशभरका विमानस्थलमा आधुनिक टर्मिनल भवन प्राधिकरणले देशैभरका आन्तरिक विमानस्थलको पुरानो टर्मिनल भवन भत्काएर नयाँ आधुनिक सुविधासम्पन्न र व्यावसायिक बनाउने घोषणा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस