विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने थप २ शिक्षक पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख ३, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख ३, हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविका बालिकाहरूलाई यौन दुव्यर्वहार गर्ने थप २ जना शिक्षक पक्राउ परेका छन् । शुक्रबार साँझ प्रहरीले थप दुई जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यौन दुव्र्यवहारको आरोप लागेका ३ जनामध्ये हेमबहादुर विक भने चैत २५ गते आफै प्रहरी नियन्त्रणमा आएका थिए । प्रवक्ता कार्कीले गएराति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक दुबैलाई जिल्ला प्रहरी कार्यलय हेटौंडा ल्याइएको बताए । पक्राउ परेका तीनै जना शिक्षकहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

जनता माविका तीन जना शिक्षकहरुले लामो समयदेखि यौन दुर्व्यवहार गरेको विद्यालयमा अध्ययनरत बालिकाहरूको आरोप छ । बालिकाहरुले आफूहरुलाई शिक्षकले दुर्व्यवहार गरेको विषयमा विद्यालयमा लिखित रुपमा उजुरी समेत दिएका थिए । तर, विद्यालयमा घटना मिलाउने प्रयास भएपछि विद्यार्थीहरुले चैत २२ गते विद्यालयमा तोडफोड र तालाबन्दी गरेका थिए ।

शिक्षकहरुले आफूहरुलाई गलत नियतले संवेदनशील अंगमा छुने गरेको ७५ जना छात्रा विद्यार्थीहरुको आरोप छ । बालिकाहरुले दिएको उजुरीमाथि छलफल गर्न चैत २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन, राजनीतिक दलका प्रतिनिधिहरूबीच बैठक बसेको थियो ।

बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए । चैत्र २४ गते राति तीन जना शिक्षक विरुद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले जिल्ला प्रहरी कार्यलयमा यौन दुव्र्यवहारको किटानी जाहेरी दिएका दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस