व्यापार घाटा बजेटको आकार भन्दा बढी हुने अनुमान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख ११, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ११, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनासम्ममा व्यापार घाटा १३ खर्ब नाघेको छ । साउनदेखि चैतसम्मको आयातको प्रवृत्ति तथा निर्यातको अवस्था हेर्दा चालू आर्थिक वर्षमा बजेटभन्दा पनि व्यापार घाटा बढी हुने देखिएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट नेपाललाई प्राप्त भएको रकमबीच १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख अन्तर रहेको छ । साउनदेखि चैतसम्ममा कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ६० अर्ब ५७ करोडको मात्र निर्यात भएको छ ।

गत वर्षभन्दा चालु वर्षमा निर्यात बढे पनि आयात नघट्दा व्यापार घाटा १३ खर्ब भन्दा माथि पुगेको हो । बाँकी तीन महिनामा चालू आवको लागि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधयेकमार्फत ल्याएको १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेटभन्दा व्यापार घाटा बढी हुने तथ्यांकको प्रबृत्तिले देखाउँछ ।

यस्तै, विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा त्यसपछिका तीन महिनामा राष्ट्र बैंकले गरेको कडाइका कारण उच्च आयातको दर केही सुस्ताउन थालेको छ । विभागका अनुसार गत आवको चैतसम्मको तुलनामा आयात ३१.९७ प्रतिशतले बढेको हो । गत आवको नौ महिनामा ११ खर्ब ११ अर्ब ३९ करोडको वस्तु आयात भएको थियो ।

यसैगरी, चैतसम्ममा १ खर्ब ६० अर्ब ५७ करोडको निर्यात भएको छ । चैत महिनामा मात्र १३ अर्बको वस्तु निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । चैत मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड पुगेको छ । कुल व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा ९.८७ प्रतिशतमात्र छ । निर्यातमा पनि सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयातमा २ खर्ब बाहिरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस