बढ्दो परनिर्भरताः ७% खेतीयोग्य जमिन बाँझो, मकैमा मात्रै बाहिरियो १५ अर्ब

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख १२, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १२, काठमाडौं । नेपालको कुल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको छ ।

भन्सार विभागले चालु आवको चैत मसान्तसम्मको सार्वजनिक गरेको विवरणानुसार नेपालमा अत्यधिक मात्रामा खाद्यपदार्थ आयात भइरहेको देखाएको छ । धान, मकै, कोदोजस्ता नेपालका प्रमुख खाद्यबाली मानिए पनि चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार रुपैयाँबराबरको आयात भएको छ ।

सरकारले कृषिउपजको उत्पादन बढाउनका लागि अनेकन नीति तथा कार्यक्रम बनाएको छ । तर, लक्षित वर्गसम्म ती कार्यक्रम पुग्न सकेको छैन । गत वर्ष सरकारले केही कृषिउपजमा आत्मनिर्भर भएको घोषणा पनि गर्‍यो । तर, भन्सार विभागको तथ्यांकले भने सो दाबीलाई समेत गलत सावित गरिदिएको छ । जमिन बाँझो राखेर विदेशी मुद्रा खर्चेर, धान, चामल, गहुँ र कोदो आयात भइरहेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।

विभागका अनुसार चालु आवको चैत मसान्तसम्म १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार रुपैयाँबराबरको ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको छ । त्यसबाट सरकारले ७५ करोड चार लाख रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

त्यस्तै, धानको बिउ मात्रै २४ करोड ८३ लाख ६९ हजार रुपैयाँबराबरको कुल १६ लाख ९९ हजार ७८९ केजी आयात भएको छ । चामलको अवस्था पनि उस्तै छ । चामल आयात उल्लेख्य रूपमा वृद्धि भएको छ । विभागका अनुसार चैत मसान्तसम्म १९ अर्ब १९ करोड ८२ लाख ९५ हजार रुपैयाँबराबरको ३७ करोड २० लाख ८७ हजार ४११ केजी सेमी पोलिस चामल आयात भएको विवरण छ ।

यसैगरी, पोलिस नगरिएको चार अर्ब ४९ करोड ६३ लाख ९५ हजार रुपैयाँबराबरको ६ करोड तीन लाख ५८ हजार ४५३ केजी चामल आयात भएको तथ्यांक छ ।

१५ अर्बको मकै आयात
नेपालको प्रमुख बालीका रूपमा रहेको मकै आयातमा विभागको विवरणानुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म १३ अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ । कुल ४० करोड ३१ लाख ३३ हजार ८१३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्य मात्रै १३ अर्ब ९९ करोड ३९ लाख ४१ हजार रुपैयाँबराबर रहेको छ ।

यसैगरी, सोही अवधिमा एक करोड ४८ लाख ७७ हजार ९९९ केजी मकैको बिउ आयात भएको छ । त्यसको लागत मूल्य एक अर्ब पाँच करोड ६६ लाख ६० हजार रुपैयाँबराबर छ । मकैको आयातबाट सरकारले ७९ करोड ४४ लाख ३८ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

दुई करोडको कोदो
नेपालको जलवायु कोदोखेतीका लागि उपयुक्त छ । तर, कोदोखेती हुने जमिन बाँझो रहँदा नेपालीले दुई करोड ७१ लाख २० हजार रुपैयाँबराबरको आयात गरेको विवरण विभागले सार्वजनिक गरेको छ । चालु आवको चैत मसान्तसम्म कुल आठ लाख पाँच हजार ७०७ केजी कोदो आयात भएको देखिन्छ । त्यसबाट सरकारले १३ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

पाँच अर्बको गहुँ आयात
विभागको विवरणानुसार गहुँको आयात पनि उस्तै छ । नौ महिनाको अवधिमा मात्रै पाँच अर्ब २७ करोड ७९ लाख ७३ हजार रुपैयाँबराबरको १५ करोड ९८ लाख ८३ हजार ४३८ केजी गहुँ आयात भएको छ । यस्तै, बिउका रूपमा सात लाख ९७ हजार ८० केजी गहुँ आयात भएको छ । त्यसको लागत मूल्य २९ लाख ९६ हजार रुपैयाँबराबर छ ।

जुनेलो समेत नेपालीले किनेर खान थालेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नौ महिनाका अवधिमा ६५२ केजी जुनेलो आयात भएको छ । त्यसको लागत मूल्य ३५ हजार रुपैयाँबराबर छ ।

त्यति मात्रै होइन, मकैको स्वाद भएका खाद्य उपजको समेत आयात भएको देखिन्छ । त्यस अवधिमा दुई करोड २९ लाख ३८ हजार रुपैयाँबराबरको पाँच लाख ६० हजार ३६५ केजी त्यस्तो खाद्यपदार्थ आयात भएको छ । यो विवरणका आधारमा नेपाल क्रमशः परनिर्भरता बन्दै गएको देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस