काठमाडौं महानगरको मेयरमा केशव स्थापितले उम्मेदवारी दर्ता गराए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १२, सोमबार (२ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

बैशाख १२, काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितले मनोनयन दर्ता गराएका छन् । स्थापित सोमबार दिउँसो प्रमुख निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

मेयरमा उम्मेदवारी दर्ता गरेका केशव स्थापितले गठबन्धनभन्दा दोब्बर मत ल्याएर निर्वाचित हुने बताएका छन् ।उम्मेदवारी मनोनयन दर्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘केशव स्थापित गठबन्धनको दोब्बर मतभार ल्याएर चुनाव जित्छ । तपाईंहरुले लेखेर राख्नुहोला ।’

उनले निर्वाचनकै बेला आफ्ना बारेमा अनर्गल प्रचार गर्ने गरेको बताए । ‘समय समयमा किन मुद्धा उठाइन्छ । म विवादमा आएन भने त केशव स्थापित हुँदैन नि । चुनौती खेपेर आएको मानिसलाई सडकमा कसैले केही भन्दैमा म कमजोर हुँदैन,’ उनले भने ।

विद्यासुन्दर शाक्य असन्तुष्ट हुनुहुन्छ नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले पार्टीभित्र त्यसो नभएको बताए । ‘माइतीघरमा कसैले नारा लगाउँदैमा एमालेको जनमत कसरी कमजोर हुन्छ?,’ उनले भने, ‘मैले काठमाडौं महानगरलाई नयाँ स्वरुप दिने छु ।’

स्थापित २०५४ सालमा काठमाडौं महानगरको प्रमुख भएका थिए ।

यस्तै स्थापितसँगै एमालेबाट काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल उम्मेदवारी दर्ता गराएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस