खाँडादेवी गाउँपालिका अध्यक्षका उम्मेदवार श्रेष्ठको विकासबारे के छ धारणा ?

Post Thumbnail

बैशाख १६,रामेछाप । ज्ञानकुमार श्रेष्ठ २०५४ सालको स्थानीय तह निर्वाचनमा २६ वर्षको उमेरमा रामेछापको भिरपानी गाविस अध्यक्ष बने । उनि त्यतिखेर जिल्लाको सबैभन्दा कान्छो अध्यक्ष थिए ।

काठमाडौं बसेर अध्ययन गरेका ज्ञानकुमारलाई गाउँ आउँदा एउटा कुराले घोचिरहन्थ्यो । गाउँमा कसैको घरमा शौचालय थिएन । सबै घरमा टुकी बत्तीको उज्यालोमा भर पर्नुपर्दथ्यो ।

गाविस अध्यक्ष भएपछि ज्ञानकुमारले एउटा संकल्प गरे ,‘प्रत्येक घरमा शौचालय बनाउने अभियान चलाउँछु, गाविसका हरेक घरमा सोलारको भए पनि उज्यालो पुर्‍याउँछु ।’

त्यसैले अध्यक्ष श्रेष्ठले एक घर एक शौचालय, एक घर एक सोलार अभियान सुरु गरे । सोलार त बत्ती बल्ने भएकोले मानिसहरू खुसी नै भए । तर शौचालय बनाउने अभियानसँग गाउँले सन्तुष्ट थिएनन् । विगत सम्झिँदै श्रेष्ठले भन्नुभयो, ‘त्यतिखेर शौचालय बनाउने कुरा गर्दा मलाई धेरै मानिसले मूर्ख भने ।’

उनि गाविस अध्यक्ष भएको २५ वर्ष हुन लाग्यो । समय बदलियो, व्यवस्था फेरियो । २६ वर्षको ठिटो ज्ञानकुमारका अहिले केश फुले । उनलाई शौचालय बनाउन सुरु गर्दा मूर्ख भन्ने सबैका घर घरमा शौचालय बने । ‘अहिले शौचालय नभएको घर छैनन्, शौचालय विनाको घर कल्पना नै गरिँदैन’, ज्ञानकुमार भन्छन् ।

तिनै ज्ञानकुमार श्रेष्ठ २५ वर्ष पछि एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।

गाउँपालिका अध्यक्षमा तपाईँको उम्मेदवारी किन ? श्रेष्ठको प्रष्ट जवाफ छ, ‘एमालेले गरेको सुखी नेपाली, समृद्ध नेपालको सपना साकार पार्न, गाउँको विकास गर्न ।’

यसको लागि ज्ञानकुमारका आफ्नै सपना छन् । खाँडादेवी गाउँपालिकाका नौ वटा वडामध्ये ६ वटा वडा अति सुक्खा ग्रस्त छन् । ती वडामा खानेपानीको पनि समस्या छ । खानेपानीको समस्या समाधान गर्न ती गाउँमा सुनकोसी र तामाकोसीको पानी तानेर पुर्‍याइएको छ । सुक्खा ग्रस्त सो पालिकालाई हरियाली बनाउने सपना ज्ञानकुमारले देखेका छन् ।

त्यो कसरी गर्ने त ? उनको तात्कालिक र दीर्घकालीन योजना छ । तात्कालिक योजना अन्तर्गत सुक्खा मौसममा जे हुन्छ तिनै बिरुवा लगाउने र हरियो बनाउने उनको योजना छ । ‘केही नभए हात्तीबार हुन्छ, त्यही हात्तीबार लगाएर पनि हरियो बनाउन सकिन्छ, त्यसबाट पाट निकालेर आम्दानी पनि गर्न सकिन्छ’, ज्ञानकुमार भन्छन्।

कम्तीमा घरायसी प्रयोग गर्दा खेर गएको पानीलाई प्रयोग गरेर करेसाबारी वरिपरि हरियो बनाउन सकिने उनको भनाइ छ । करेसाबारीमा तरकारी उत्पादन गरी गाउँभरिका तरकारी संकलन गरेर सहर पठाउने र नागरिकको आयस्ता माथि उकास्न सकिने श्रेष्ठ बताउछन्। ‘अहिले टोल टोलमा सडक पुगेको छ, सहरबाट सामान लिएर आएका गाडीमा ती तरकारी पठाउन सकिन्छ, जसले नागरिकको जीवनस्तर उकास्न सहयोग पुर्‍याउँछ’, श्रेष्ठ भन्छन् ।

दीर्घकालीन रूपमा भने भटौली खोलामा ड्याम बनाएर आसपासको जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र स्थानीयवासीको जीवनमा आमोल परिवर्तन ल्याउने । ‘परिवर्तन कृषिबाटै सम्भव छ, त्यसका लागि व्यवसायीकतामा जोड दिनुपर्छ’, उनले भने ।

भटौली खोलामा ड्याम बनाउने कुरा धेरै पहिलादेखि उठेको हो । त्यो सानो लागतले हुने कुरा होइन । सो परियोजनाको लागि ठुलो रकम आवश्यक पर्छ । तर असम्भव भने छैन ।

स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको सहकार्यमा सो परियोजना सफल पार्न सकिने उनको विश्वास छ । ‘नागरिकको जीवनसँग जोडिने काम सरकारले गर्नैपर्छ त्यो सम्भव छ’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस