आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोगले सचेत गरायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १८, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई सचेत गराएको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकूल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो ।

आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भएरगरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न/नगराउन निर्देशन दिई सचेत गराएको छ ।

आयोगले ती दललाई अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न/नगराउन निर्देशन दिई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धमा आयोगबाट यही वैशाख १६ गते निर्णय र आदेश भएको थियो ।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै एकीकृत समाजवादीलाई पनि सचेत गराएको छ । उसले २६ चैत २०७८ मा भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता विपरीत दलको झण्डा र बालबालिकाको प्रयोग गरेको आयोगको निष्कर्ष छ ।

साथै कुलमान घिसिङको फोटो राखी चुनावी प्रचार सामग्री बनाएको भन्दै आयोगले नेकपा माओवादी केन्द्रलाई पनि सचेत गराउने निर्णय गरेको छ ।

२७ चैत २०७८ मा मकवानपुरको हेटौंडामा गरेको कार्यक्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले राप्रपालाई पनि सचेत गराएको छ । राप्रपामाथि पनि आचारसंहिता विरुद्ध झण्डा र बालबालिकाको प्रयोगको आरोप थियो ।

साथै, नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालालाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको तर केही साताअघि कांग्रेस नेता कोइरालाले ६ करोड खर्च भएको भनी दिएको अभिव्यक्ति सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ । उनले पनि निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको र खर्चको गलत विवरण बुझाएको अभिव्यक्ति दिएका थिए ।

आचारसंहिता प्रतिकूलका निर्वाचन सामग्री जफत
निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडीखेल, शहीदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिबार स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सार्वजनिकस्थलमा रहेका राजनीतिक दलका झन्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बण्डल (करिब १०० थान), टिसर्ट १० थान, दलको ब्यानर तीन थान जफत गरेको छ ।

राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने आयोगले जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस