सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन बुटवलका उद्योगीको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २१, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख २१, बुटवल । बुटवलका उद्योगी व्यवसायीहरुले यो पटक काँग्रेसका उम्मेदवारलाई भोट दिने प्रतिवद्धता व्यक्त गरेका छन् । अघिल्लो पटक एमाले उम्मेदवारलाई भोट दिएर जिताएपनि आफूसंग गरेका बाचा पूरा नगरी त्यस विपरित चर्को कर थोपरिदिएको र उद्योगी व्यवसायीलाई प्रतिकुल हुनेगरी कार्यक्रमहरु ल्याएको भन्दै अहिले नगरपालिकामा नेतृत्व परिवर्तन गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट मंगलबार बुटवलमा आयोजना गरिएको उद्योगी व्यवसायी भेलामा सहभागि भएका उनीहरुले काँग्रेस प्रति आफूहरुको आशा र भरोसा बढेको बताएका हुन् । उनीहरुले काँग्रेस नेतृत्वमा बनेको गठबन्धनका उम्मेदवारलाई जिताउने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले नगरपालिकालाई उद्योगी व्यवसायीको साझा थलो बनाउने र उद्योग–व्यवसायमैत्री नीति लिने प्रतिवद्धता व्यक्त गरे । उनले बुटवलमा लगानीको वातावरण बनाउने र लगानीकर्तालाई उत्साहित गर्ने कार्यक्रम ल्याउने पनि प्रतिवद्धता व्यक्त गरे ।

साना व्यवसायलाई संरक्षण गर्ने नीति लिईने बताउँदै मेयर उम्मेदवार पाण्डेयले ठूला उद्योगी व्यवसायीलाई सम्मान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए । त्यस्तै उनले लिईँदै आएको घर वहाल लगायतका करलाई घटाउने र वैज्ञानिक प्रणाली लागु गरेर कर निर्धारण गरिने उनको भनाई छ । त्यस्तै कर निर्धारणमा पनि उद्योग व्यवसायीको राय सुझाव लिईने र सोही अनुसार निर्धारण गरिने उनले बताए ।

कार्यक्रममा गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योगी व्यवसायीलाई संरक्षण गर्ने गरी नगरपालिकाले नीति बनाउने बताउँदै गठबन्धनको तर्फबाट बनेका उम्मेदवारलाई मतदान गरि विजयी गराउन आग्रह गरे ।

त्यस अवसरमा गठबन्धनको तर्फबाट ब्यवायी खिमनारायण पराजुली, पदम श्रेष्ठ लगायतले यो पटक गठबन्धनको पक्षमा जनलहर देखिएकोले जीत सुनिश्चित भएको बताएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की, उद्योगी व्यवसायी समन्वय समितिका संयोजक खिमबहादुर हमाल,नेकाका नेता युवराज गिरि, बिमलराज भट्टराई लगायतले भनाई सहित गठबन्धनका उम्मेदवारलाई जिताउन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस