“किन हटेनन् अझै बिभेदहरु ?”

रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् , गुमनाम जिन्दगी ! जीवनोपयोगी शिक्षाबाट ठगिएर व्यापारिकरणको नङ्ग्राले चिथोरिएर ठालुहरुको होच्याइबाट थलिएर थिलथिलो भएका पाठशालाहरुले जन्माइरहेछन् , बेरोजगार बहादुर र कान्छाहरु । पुर्णीमालाई लखेटेर औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा झलमलाई रहेछन् , पितृसत्तात्मक सोचका ताराहरु । असमानताको कालोपत्रे बिछ्याउँदै एउटै पाङ्ग्राले रथ हाँकिरहेछन् , एक्काइसौँ शताब्दीका अर्जुनहरु । पहिचान लुकाउनेहरुको विवशता देखेर, सिर निहुराउँदै मानवता झोक्राइरहेछ । आफैँले सजाएका मन्दिर महलहरु हेर्दै, छुवाछूतले फाटेका मन सिलाउने मेसिन आविष्कार नहुनुका कारणहरु, खोजिरहेछन् आरनहरु । सङ्कीर्णताको माला भिरेर अहङ्कारको टीका लगाएर ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै शीतयुद्धमा भाग लिइरहेछन् , धर्मका अनुयायीहरु । हुरी बतास र बर्षादसँग आत्मासमर्पण गरिरहेछन् , चिसो चुल्हो बोकेका श्रमजीवीका वासस्थानहरु । वर्गीय उत्पीडनका खाडलहरु गहिर्‍याउँदै बगिरहेछन् निरन्तर, भोकको आगोलाई निभाउन नसकेका अभावलाई बगाउन नसकेका पसिनाका नदिहरु । सुशासनको रटानले तिर्खाएर धारा उपधाराहरुले प्यास मेटेकाहरु सामुन्ने ठडिरहेछन् प्रश्नका सगरमाथाहरु आखिर, किन हटेनन् अझै बिभेदहरु ???     -मुकुन्द कृष्ण थापा खोटाङ

पुरा पढ्नुहाेस्