जेठ २४, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।
जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।
खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, उनलाई आपूर्ति मन्त्रालयले मन्त्रालय हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो ।
कार्यकाल ६ महिना हुँदा राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरेको बताएका छन् ।
उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाउन भ्याए । ‘ममाथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे’, खड्काले राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा भने ।
खड्काले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको भन्दै आक्रोस पोखे ।