जेठ ३०,पश्चिम नवलपरासी । यहाँका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड बक्यौता रकम भुक्तानी पाएका छैनन् ।
जिल्लामा रहेको तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि नपाएका हुन् । सबै चिनी उद्योगमा करीब रु ५० करोड भुक्तानी पाउन बाँकी रहेको उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।
यादवका अनुसार चिनी उद्योगले करीब रु ७५ करोडमध्ये हालसम्म करीब रु २५ करोड बराबरको भुक्तानी गरे पनि अन्य सबै रकम भुक्तानी गर्न बाँकी छ ।
पश्चिम नवलपरासीका किसानले उखुको तत्काल भुक्तानी नपाए आफूहरु राजमार्ग बन्द गरेर आन्दोलनको बाटो रोज्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
पटकपटक उखुको भुक्तानी दिन माग गरे पनि जिल्लाका उद्योगले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेकाले राजमार्ग बन्दको विकल्प नरहेको भन्दै किसानले चेतावनी दिएका हुन् ।
चिनी उद्योगबाट समयमै भुक्तानी नहुँदा किसान आन्दोलनको बाटो रोज्न बाध्य हुने अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष दुधनाथ गुप्ताको भनाइ छ ।