असार १२,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रको सीप र पूँजीलाई उत्पादन क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएकी छिन ।
आज स्याङ्जाको वालिङमा राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको अन्र्तक्रियामा उनले सहकारीबाट लगानी जुटाएर आर्थिक क्षेत्रलाई उकास्न जरुरी रहेको बताईन ।
राज्यमन्त्री अर्यालले मुलुकले राजनीतिक उपलब्धि हासिल गरिसकेकाले अबको विकास आर्थिक समृद्धितर्फको हो भनिन् ।
“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी एउटा पाटो हुन सक्छ,” उनले भनिन्, “सहकारीले रोजगारीको सिलसिलामा विदेशी भूमिमा पसिना बगाइरहेका युवालाई स्वदेशमै रोजगारी दिन सक्नुपर्छ ।”
कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सहकारीतर्फ वालिङस्थित उपकार बचत तथा ऋण सहकारी संस्थालाई र नियमित कारोबारतर्फ दर्शन बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो ।