असार २८,काठमाडौँ । सरकारले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न सहुलियतमा ऋण दिने भएको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा नविकरणीय उर्जाबाट चल्ने सवारी साधनलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख छ । नीतिमा नविकरणीय उर्जाबाट चल्ने गाडीलाई दिइने कर्जालाई पनि प्राथमिकता प्राप्त कर्जामा गणना गर्ने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले छट्याएका प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरुले २५ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । नविकरणीय उर्जाबाट चल्ने गाडी पनि प्राथमिकताको क्षेत्रमा परेसँगै अब बैंकहरुले सहुलियतमा कर्जा दिनुपर्ने हुन्छ ।
‘अब बैंकहरुले विद्युतीय गाडीलाई पनि प्राथमिकता प्राप्त क्षेत्रको रुपमा लिएर सहुलियतमा लगानी गर्नुपर्ने हुन्छ, सरकारले पेट्रिलियम गाडीको संख्या कम गराउने नीति ल्याएसँगै हामीले पनि यसलाई प्राथमिकतामा राखेका हौं’, नेपाल राष्ट्र बैंकको अनुसन्धान विमागका प्रमुख नरबहादुर थापाले उज्यालो अनलाइनसँग भन्नुभयो ।