३१ असार,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
आइतबार सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले साउदलाई पदबाट तत्काल नहटाउनको लागि सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले आफ्नो पक्षमा आदेश दिएसँगै कानूनी परामर्श पछि कार्यालय पुगेर पुनः पदभार गर्ने सोचमा रहेको साउदले बताएका छन् ।
गैरकानूनी हिसाबले आफूलाई पदबाट हटाइएको दाबी गर्दै साउदले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । लोकसेवा आयोगको जस्तै परीक्षा दिएर कानूनसम्मत ढंगले सीईओमा नियुक्त भएका कारण आफूलाई पदबाट हटाउन नमिल्ने साउदले दाबी गर्दै आएका छन् ।
पूर्ववर्ती शेरबहादुर देउवा सरकारले भदौ १६ गते पछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयसँगै साउद पनि पदमुक्त भएका थिए । साउदलाई पदबाट हटाएर अर्थमन्त्रालयले उपसचिव रमेश अर्याललाई नेप्सेको सीईओको जिम्मेवारी दिइसकेको छ ।