साउन १,काठमाडौँ । शेयरको किनबेचमा स्वचालित विद्युतीय कारोबार प्रणाली लागू भएको छ । धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ लागू गर्दै अब अनलाइनबाटै शेयरको किनबेच गर्न सकिने व्यवस्था गरेको हो । तर, यो प्रणाली लागू भए पनि अहिले नै सम्पूर्ण रुपमा भने कारोबार अनलाइनबाट गर्न सकिंदैन ।
नेप्सेले साउन १ गतेदेखि यो प्रणाली लागू गर्ने पूर्वघोषणा अनुसार लागू भएको तर पूर्ण रुपमा कार्यान्वयनमा जान अझै समय लाग्ने बताएको छ ।
अनलाइनबाट शेयरको कारोबार गर्नका लागि शेयर दलालको कार्यालयबाट युजरनेम र पासवर्ड लिनुपर्छ । सिद्धान्ततः यो युजरनेम र पासवर्डले जहाँ बसेर पनि शेयरको कारोबार गर्न पाउनुपर्ने हो तर अहिले सिष्टमको परिक्षणलगायत कारणले गर्दा ग्राहकले पुरै काम अनलाईनबाट गर्न नसक्ने नेप्सेले जनाएको छ ।
अहिले पनि पुरानै प्रणाली अनुसार किन्ने र बेच्ने अर्डर दिइरहेको र सँगसँगै अनलाईन प्रणालीमा पनि त्यसलाई म्याच गर्ने काम प्रणालीले गरिरहेको लिञ्च स्टक मार्केट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरिता अधिकारीले जानकारी दिए ।
अहिले युजरनेम र पासवर्ड लिएका ग्राहकले आफ्नो अर्डर स्वीकार भयो कि भएन ? कुन समयमा भयो लगायतका विवरण भने अनलाईनबाट हेर्न सक्नेछन् । सवै दलाल कार्यालयमा सफ्टवेयर सञ्चालन गर्ने बनाउनै केही दिन लाग्ने र त्यसपछि केही समय सिष्टम र सफ्टवेयरको परिक्षण गरेपछि पूर्णरुपमा कार्यान्वयन हुने बोर्डको भनाई छ । सफ्टवेयर इण्ट्रिग्रेसनको काम भइरहेको छ ।
शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउन तथा विद्युतीय कारोबार प्रणाली लागू गर्न लागिएको बोर्डले जनाएको छ ।