सौराहा–पोखरा एसी डिलक्स बससेवाको शुभारम्भ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण १, मंगलबार (६ साल अघि)
  • ४९ पटक पढिएको
Post Thumbnail

साउन १,चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताएका छन ।

चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उनले नेपाली र विदेशी हवाई यात्रुले पाउने बीमा रकम फरक/फरक भएकामा अब भने बराबरी हुनेगरी सोमबारको मन्त्रिपरिषद्बाट पारित भएको जानकारी दिए ।

उनका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले रु ३० लाख र विदेशीले रु एक करोड ५० लाख पाउँदै आएका थिए ।

नेपालको विमानस्थल र विमान नै खतराको सूचीमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको हटाइसकेको र अब युरोपेली सङ्घले अझै हटाउन बाँकी रहेकाले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिए ।

उनले नेपालमा जहाजको मार्गसमेत बढाएर आठ स्थानमा पु¥याइएको समेत जानकारी दिए । अर्को २० दिनपछि नेपालमा अर्को जहाज आउनेछ भन्दै उनले नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रमसमेत तीव्र पारिएको जिकिर गरे ।

नेपालमा एक करोड पर्यटक नभित्र्याएसम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाइ छ । आगामी एक वर्षमा लुम्बिनी, तीन वर्षमा पोखरा र पाँच वर्षमा निजगढ विमानस्थल बन्ने जिकिर मन्त्री अधिकारीले गरे ।

नेपालको सिमीकोट, पोखरा, काठमाडौँ र भैरहवाको विमानस्थलको मुआब्जा विवाद हल भएको उनले जानकारी दिए । भरतपुर विमानस्थलमा अग्ला घर भएकाले केही समस्या छ भन्दै नेपाली सेनासँग मिलेर विमानस्थल बढाउने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले भने,“सो विषयमा एक डेढ महिनामा केही नतिजा आउँछ ।”

चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने टिकट एक दिनको लागि मात्रै भएकाले त्यसलाई तीन दिनसम्म पु¥याउनुपर्ने पर्यटन व्यवसायीको मागप्रति सकारात्मक रहेको बताउँदै उहाँले सो समस्या समाधानका लागि सचिवलाई निर्देशन दिइसकेकाले काम गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मन्त्री अधिकारीले चितवनको सौराहा बसपार्क निर्माणका लागि कम्तीमा रु ५० लाख संघीय सरकारबाट सहयोग हुने घोषणा गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस