साउन ४,काठमाडौँ । यो सातामा एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
आर्थिक वर्ष २०७४/७५ को अन्तिम २ दिन र चालु आर्थिक वर्षको पहिलो ३ दिन समेटिएको यो साता ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८६ कम्पनीहरुको कारोबार भएको छ । कारोबार रकम अघिल्लो साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम हो ।
अघिल्लो साता १ सय ९१ कम्पनीको २४ हजार ३ सय ७० वटा कारोबारबाट दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकमसँगै नेप्से परिसूचकमा समेत गिरावट आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेको छ ।
साताभरमा ६.७० अंकले गिरावट आउदा नेप्से परिसूचक अन्तिम दिन १ हजार १ सय ९३ दशमलव ३९ अंकमा आइपुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.३९ अंकले घटेर २५१.४२ अंकमा आइपुगेको छ ।