साउन १६,बैतडी । बडीकेदार गाउँपालिकाका लेखापाल दलबहादुर धामी बैंक नहुँदा भोग्नु परेको समस्या शब्दमा उतार्न नसक्ने बताउछन ।
उनले आफू जिल्ला कैलालीको धनगढीस्थित बैंकहरुमा कामका लागि जाँदा अवहेलना सहनु परेको सुनाउछन। बडीकेदारसहित यहाँका ५ वटा गाउँपालिकामा अझै पनि बैंक खुल्न सकेको छैन । सामान्य बैंकिङ्ग कारोबारका लागि बाहिरी जिल्ला कैलाली जानु पर्ने बाध्यता रहेको छ ।
‘पाँच हजारको चेक साट्न कम्तीमा तीन हजार खर्च गरेर धनगढी जानुपर्छ’, धामीले भने, ‘बैंक नहुँदा पूरै सेवा प्रवाह नै खल्बलिएको छ, खर्च पनि हुने गरेको छ ।’
डोटीको सबैभन्दा दुर्गम गाउँपालिका हो बडीकेदार । वर्षा सुरु भएपछि गाउँपालिकाबाट ४३ किलोमिटर कच्ची सडक पैदल हिँडेर भिमदत्त राजमार्गको सहजपुर आइपुगिन्छ । त्यहाँबाट धनगढी जान ६० किलोमिटर दक्षिण तिर तथा सदरमुकाम सिलगढी जान झण्डै एक सय ४० किलोमिटर उत्तरतिरको यात्रा गर्नु पर्ने बाध्यता छ । बैंकिङ कारोबारका लागि कर्मचारी तथा उपभोक्ता समितिहरुलाई समस्या हुने गरेको स्थानीय रोजबहादुर कलेलले बताए ।