भाद्र ७,पाँचथर । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि जिल्लाका चिया कृषक भने समस्यामा छन् ।
चिया उत्पादक कृषकले राज्यले सहयोग नगर्दा वर्षौंदेखि समस्या झेल्नु परेको गुनासो गरेका छन् । एकातिर राज्य चिया खेती र कृषकसँग उदासीन छ भने अर्कोतिर कृषकले चिया खेती व्यावसायिकरुपमा गर्न नसकिएको बताएका छन् । चियाको उत्पादन र गुणस्तरलाई कायम गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने नाम्फुयक चिया सहकारीका सचिव सुवास तुम्वापोले बताए ।
उनले भने, “श्रमिकको समस्याले चिया खेतीमा भने जस्तो ढङ्गले विस्तार र सुधार हुन सकेको छैन् ।” चिया तथा कफी विकास वोर्ड चिया विस्तार आयोजना लालीखर्कका प्रमुख प्रेमकुमार थिङका अनुसार चिया क्षेत्रमा राज्यले विभिन्न आकर्षणसहितका अनुदान, तालीम गोष्ठी र सेमिनार सञ्चालन गरे पनि पनि स्वयं किसानको आकर्षण घट्नु, वैदेशिक रोजगारीका क्रममा युवा विदेश पलायन हुनु जस्ता कारण चिया उत्पादनमा ह्रास आइरहेको बताए ।
चिया उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष नन्दकुमार आङथोपुले चिया प्रशोधनका लागि कारखानामा दक्ष प्राविधिक नहुनु र चियाको मूल्य निर्धारणमा पहुँच नपुग्दा कृषकले उचित मूल्य पाउन नसकेको बताए ।
विश्वका धेरै ठाउँमा चियासम्बन्धी अध्ययन–अध्यापन भए पनि नेपालजस्तो पर्याप्त चिया उत्पादन हुने देशमा त्यस्तो सहज अवस्था नहुनुले थप समस्या उत्पन्न भएको उनको भनाइ छ ।