बिमस्टेकको चौथौ शिखर सम्मेलन : सुरक्षा योजना लागू

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र ११, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथौ शिखर सम्मेलनलाई ध्यानमा राखेर सरकारले सुरक्षा योजना लागू गरेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सुरक्षा समितिले सुरक्षाको ढाँचा तयार पारेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

उचित व्यवस्थापनका लागि बिमस्टेक सदस्य राष्ट्र भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाईल्याण्डका राष्ट्र तथा सरकार प्रमुखको काठमाडौं बसाईका क्रममा हुने सुरक्षा विश्लेषण गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको अघिल्लो नेपाल भ्रमणका आधारमा सुरक्षा व्यवस्थापनको विश्लेषण गरी तयारी गरिएको छ ।

त्यसबाहेक म्यानमारका राष्ट्रपति विन्ट मिन, थाईल्याण्डका प्रधानमन्त्री प्रयुच चाओचा र भुटानका आन्तरिम मन्त्रिपरिषद प्रमुख यो पो छिरिङ वाङचुकको पनि सुरक्षा विश्लेषण गरी सोही अनुसार तयार गरिएको प्रबक्ता सुवेदीले जानकारी दिए ।

विशिष्ट पाहुना, उनका आफन्त, मन्त्री र सचिवको आन्तरिक सुरक्षा नेपाली सेनाले गर्नेछ ।

सम्मेलन स्थल र स्कर्टीङको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । सेनाले बिमस्टेक सम्मेलन अवधिभर गस्ती गर्ने जिम्मेवारी पाएको छ । पुलपुलेसा र अग्ला भवनहरुबाट सशस्त्र प्रहरीले सुरक्षा दिने साथै पैदल गस्ती समेत बढाउने जनाइएको छ ।

नेपालमा म्यानमारबाट शरण लिन आईपुगेका रोहिग्या समुदायको सम्भावित प्रदर्शन सुरक्षाका निकायका लागी चुनौती रहेको प्रहरी श्रोतको भनाई छ । नेपालमा ५ सय रोहिग्या शरणार्थी छन् ।

यसैबीच, प्रहरीले बिशिष्ट पाहुना आईपुग्ने समय एयरपोर्टदेखि कार्यक्रमस्थल सोल्टी होटलसम्मको रुटमा सवारी व्यवस्थापनको आज पुर्वाभ्यास गरेको छ ।

एयरपोर्ट, सिनामंगल, तिनकुने, थापाथली, हुँदै त्रिपुरेश्वर, कालीमाटी देखी सोल्टी होटलसम्म सवारी र सुरक्षा व्यवस्थापनको आज विहान पुर्वाभ्यास गरिएको हो । सम्मेलन आगामी बिहीबार र शुक्रबार काठमाडौंमा हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस