भाद्र १२,काठमाडौँ । नेपालका टप–१० धनी व्यक्तिको सूचीमा पहिलो पटक हेटौंडेली व्यवसायी सूचीकृत भएका छन् । विश्वको चर्चित म्यागेजिन ‘फोब्र्स’ ले उनको नाम सार्वजनिक गरेको हो ।
मकवानपुरको हेटौंडामा जन्मिएका अजेयराज सुमार्गी उक्त सूचीमा अटाएका हुन । साना व्यवसायबाट माथि पुगेर सम्पति आर्जन गर्ने व्यक्तिका रुपमा उनी चिनिन्छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का निकट सहयोगी भनेर चिनिएका सुमार्गी नेपालको चौथो धनी व्यक्तिका रुपमा ‘फोब्र्स’ मा सूचीकृत भएका हुन ।
५४ वर्षीय सुमार्गी बिनोद चौधरी, शेष घले र उपेन्द्र महतोपछि धनीको बरियतामा परेका हुन । मुक्तिश्री प्राइभेट लिमिटेडमार्फत् हेटौंडा चुन उद्योग र पानी उद्योगलगायत कम्पनी सञ्चालन गरिरहेका उनीसंग २ सय मिलियन डलर भन्दा बढी सम्पति रहेको बताइएको छ ।
उनले हेटौंडा लाइम उद्योग, एभरेष्ट मिनरल प्रोडक्ट, दुर्गा कोल्ड स्टोरेज, हिमालयन स्प्रिङ वाटर, इन्को प्यानल, अल इन वान मार्ट, मुक्तिश्री सिमेन्ट, हेटौंडा एकेडेमी, रेडियो थाहा सञ्चार, आँखु खोला हाइड्रो र मुक्तिश्री हस्पिटालिटी आदि सञ्चालन गर्दैै आएका छन । सुमार्गी परिवारले महालक्ष्मी बैंक र हेटौंडाको चुरेहिल अस्पताललगायतमा पनि उल्लेख्य लगानी गरेको छ ।
आफैं उद्यमी रहेका बुबा माधवराज सुमार्गीबाट व्यवसायतर्फ प्ररित भएका अजेयका छोरा अभिमतराज सुमार्गीले अक्स्फोर्ड युनिभर्सिटीबाट इन्टरनेसनल रिस्क म्यानेजमेन्टमा स्नातकोत्तर सकेपछि सुमार्गी परिवारको तेस्रो पुस्ता उद्योगमा आवद्ध छ ।
बुबा माधवराजको निधनपछि आमा विश्वकान्ति कलावतीको संरक्षकत्वमा अजेय र हाल नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यसमेत रहेका भाइ अरुणराजले ती सबै उद्योग प्रतिष्ठानको सञ्चालन गर्दै आईरहेका छन ।
‘फोब्र्स’ ले नेपालका सर्वाधिक धनीहरुको नाम र सम्पत्ति विवरणसहित पेश गरेको हो । जसमा पहिलो नम्बरमा अर्बपति विनोद चौधरी र दशौं नम्बरमा पूर्वराजा ज्ञानेन्द्र शाह रहेका छन ।