बिम्स्टेक सम्मेलनः महिला अधिकार थप सुनिश्चित गर्न राष्ट्रपतिको जोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र १५, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले साझा प्रयासबाट जनताको जीवनमा गुणात्मक, स्पष्ट र प्रत्यक्ष अनुभूत हुने अग्रगतितर्फ आफूलाई केन्द्रित गर्नुपर्ने बताएकी छन् ।

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका सदस्य राष्ट्रका राष्ट्र एवं सरकार प्रमुखसँगको भेटघाटका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सम्मेलनले आपसी मित्रता, एकता, साझेदारी र आपसी सहयोगलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।

लामो सङ्क्रमणपछि जनताका प्रतिनिधिद्वारा बनाइएको नेपालको संविधान लागू भएपछि र गत २०७४ मा सम्पन्न निर्वाचनबाट बलियो जनादेशका साथ वर्तमान सरकार गठन भएपछि नेपालमा आयोजना भएको यो पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन भएको उल्लेख गर्दै उनले यसलाई नेपाली जनताले राष्ट्रिय उत्सवका रूपमा लिएको जनाईन् ।

सदस्य राष्ट्रका राष्ट्र एवं सरकार प्रमुखको आगमनले नेपालीलाई थप उत्साहित र गौरवान्वित बनाएको उल्लेख गर्दै उनले भनिन्, “बिम्स्टेक हामी सबैको साझा पहिचानको रूपमा स्थापित भइसकेको छ । बङ्गालको खाडी केवल भौगोलिक एकाइ मात्रै होइन, ऐतिहासिक, सामाजिक र सांस्कृतिक पहिचान र सभ्यताको एउटा मुहान पनि हो । जसरी संसारकै उच्च हिमशिखर सगरमाथाको पानी बग्दैबग्दै संसारको सबैभन्दा ठूलो बङ्गालको खाडीसम्म पुग्छ, त्यसैगरी नेपालमा जन्मेका गौतम बुद्धको शान्ति र अहिंसाको दर्शन दक्षिण एशिया तथा दक्षिण–पूर्वी एशियाका म्यानमा, थाइल्याण्ड हुँदै अन्य एशियाली मुलुकसम्म फैलिएको छ ।”

यस क्षेत्रको एउटा साझा सम्पदा बौद्ध दर्शनले सबै सदस्य राष्ट्रलाई गहन रुपमा आबद्ध गरेको बताउँदै उनले हाम्रा जनताबीचको सम्बन्ध पनि शदियौँ पुरानो तथा आजपर्यन्त निकै घनिष्ठ र जीवन्त रहेको बताईन् ।

राष्ट्रपति भण्डारीले दुई दशक लामो यात्रा पूरा गरेसँगै बिम्स्टेक सदस्य राष्ट्रबीचको आपसी सहयोग र साझेदारी थप घनीभूत बन्दै गएको महसुस गरिएको छ भन्दै बिम्स्टेकअन्तर्गत सहयोगका क्षेत्रका पहिचान, विभिन्न संयन्त्रको निर्माण एवं सचिवालयको स्थापनालगायत धेरै संरचना र पद्धति संस्थागत र क्रियाशील बन्दै गएको बताईन् ।

“बिम्स्टेकप्रति जनताको चासो र अपेक्षा चुलिएको छ । हाम्रा जनता बिम्स्टेकको साझा छानोमुनि समृद्धिको सुन्दर सपना देख्न थालिसकेका छन्”, उनले भनिन्, “जनताको यो सपनालाई साकार बनाउन सदस्य राष्ट्रले सुमधुर एकता, साझेदारी र आपसी सहयोग थप अभिवृद्धि गर्दै अगाडि बढ्नुपर्छ ।”

बिम्स्टेक सदस्य राष्ट्रलाई आफ्ना बृहत् सम्भावनालाई सदुपयोग गरी व्यापार, लगानी, ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा स्पष्ट कार्ययोजना बनाएर अगाडि बढ्न आग्रह गर्दै उहाँले यस क्षेत्रलाई स्थल, हवाई, जल यातायातका साथै सूचना–प्रविधिका माध्यमबाट आपसमा घनीभूत रूपमा जोड्न सुझाव दिईन् ।

अपार प्राकृतिक सम्पदा र अनुपम मानवीय क्षमताले भरिपूर्ण उच्च सम्भावनायुक्त यस क्षेत्रका करोडौँ जनता अझैसम्म गरीबी र पछौटेपनबाट पीडित भएको बताउँदै उहाँले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधार गर्न आवश्यक छ भनिन् । साझा चुनौतीका रूपमा खडा हुँदै गएको जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र आउने पुस्तालाई सुरक्षित र हरियालीयुक्त पृथ्वी हस्तान्तरण गर्नका लागि प्रगतिको साझा बाटो पहिल्याउन पनि उनले आह्वान गरिन् ।

यस क्षेत्रमा ठूलो चुनौतीका रूपमा रहेको महिलाविरुद्ध हुने विभेद र हिंसा निराकरण गरी महिला अधिकार थप सुनिश्चित गर्नका लागि प्रयास केन्द्रित हुन आवश्यक छ भन्दै उहाँले राजनीतिकलगायत सार्वजनिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्दै लैजाने हाम्रा प्रयासलाई अझ प्रभावकारी र नतिजामुखी बनाउन आवश्यक भएकामा जोड दिईन् ।

शीतल निवासमा भएको भेटका अवसरमा सदस्य राष्ट्रबीचको सुमधुर सम्बन्ध, विकासमा साझेदारी र आपसी सहयोगका विषयमा छलफल भएको थियो । दिवाभोजको सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी थिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस