भाद्र २०, काठमाडौं । डलरको भाउ झनै महंगो भएको छ । आज १ डलरको नेपाली बजार भाउ १ सय १४ रुपैयाँ ८४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८४ रुपैयाँ तोकेको छ ।
यसअघि गएको गएको शनिबार डलरको भाउ १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलर महंगो हुँदै गएको राष्ट्र बैंकको भनाई छ ।
डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र वस्तु निकासी लगायतका केही क्षेत्रमा फाइदा भए पनि घाटा धेरै हुने अर्थविद्हरुको भनाई छ । डलर महँगो हुँदा नेपालले विकास निर्माणका लागि ल्याउने विदेशी सामग्रीको भाउ बढ्न सक्ने डर छ । त्यस्तै भारतीय मुद्रा बाहेक अन्य मुद्रा किनिने सामग्रीको भाउ पनि बढ्न सक्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन नरबहादुर थापाका अनुसार डलरको भाउ बढ्दा सबैभन्दा ठूलो असर पेट्रोलियम पदार्थमा पर्ने गरेको छ ।