भाद्र २०,रसुवा । आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङ्टाङ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।
बीस मेगावाट क्षमताको उक्त आयोजनाका लागि सनराइज बैंकको अगुवाइमा अन्य चार वटा बैंकले लगानी गर्ने सम्बन्धमा आज वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सहायक लगानीकर्ता बैंकमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र जनता बैंक छन् ।
कार्यक्रममा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका अध्यक्ष कृष्ण आचार्य र नेतृत्वकर्ता सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्झौताप्रति आदानप्रदान गर्नुभयो । आयोजनाको कूल लगानी रु चार अर्ब पाँच करोड प्रक्षेपण गरिएकामा शेयर धनीबाट रु एक अर्ब ३२ करोड र बैंकले रु दुई अर्ब ७३ करोड ४० लाख लगानी गर्ने मल्टी इनर्जीका अध्यक्ष आचार्यले जानकारी दिए ।
इपिसिएफ मोडलमा निर्माण हुन लागेको उक्त जलविद्युत आयोजनासँगको सम्झौताअनुसार सनराइज बैंकले रु एक अर्ब दुई करोड ५२ लाख, सिद्धार्थ बैंकले रु ७६ करोड ९० लाख, एनसिसी बैंकले रु ५२ करोड २३ लाख र जनता बैंकले रु ४२ करोड ७३ लाख ऋण उपलब्ध गराउने छन् ।
आयोजनाको सम्भाव्यता अध्ययन, विद्युत् खरिद बिक्री सम्झौता, वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कनलगायतका काम सम्पन्न भएपछि वित्तीय व्यवस्थापन सम्झौता भएको हो । साविकमा १० मेगावाट क्षमताको उक्त आयोजनाको अध्ययनका क्रममा पछि १० मेगावाट क्षमता थप गरिएको थियो ।