भाद्र ३०,सप्तरी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्ने कार्यमा सरकार प्रतिबद्ध भएर लागेको बताएका छन ।
सप्तरीको राजविराजमा आज प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले विदेशमा श्रम बेचेर हुँदैन बरु आफ्नै देशमा मेहनत र मजदुरी गरे आर्थिक विकास हुन्छ भने ।
उद्योग सञ्चालन गरे बिजुली, पानी र बाटोको सुविधा सरकारले उपलब्ध गराउने नयाँ सोच ल्याएको बताउँदै उनले आफ्नै देशमा लगानी र रोजगारी गर्ने आग्रह गरे ।
कृषि उत्पादनमा वृद्धि ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताउँदै मन्त्री यादवले कृषिमा आधुनिकीकरण गर्न सकिएमा खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ भने ।
उनले प्रदेश नं –२ अन्तर्गत राजविराजको पूरानो उद्यौगिक क्षेत्र गजेन्द्रनारायण औद्योेगिक क्षेत्रको विकासका लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।