असोज ९,काठमाडौँ । काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित २ जना पक्राउ परेका छन् ।
सोमबार साँझ काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित रसुवा गोसाईकुण्ड गाउँपालिकाका २४ वर्षीय नरबहादुर घले र सोही गाउँपालिकाका २० वर्षीय पेम्बा तामाङ पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट बा ७३ प ३४०२ नम्बरको निलो रङको पल्सर मोटरसाइकल समेत बरामद गरिएको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
घले र तामाङले २ महिनामा दुई पटक गरी तीन किलो सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
१ करोड ५० लाख २० हजार ६ सय ९९ रुपैयाँ बराबरको तीन किलो अवैध सुनको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि वरिष्ठ उपरीक्षक लामाले बताए ।