मलेसियामा काम गर्ने नेपालीले अबदेखि किरिया बिदा पाउने भएका छन् । परिवारका सदस्य (बुबाआमा, श्रीमान् वा श्रीमती, छोराछोरी)को मृत्यु भएमा १५ दिनका लागि नेपाली कामदार स्वदेश फर्किन पाउने भएका छन् ।
यसअघि नेपाली कामदार आफन्तको मृत्यु हुँदा पनि नेपाल फर्कन पाउँदैनथे । उनीहरुले छुट्टि पाउने नपाउने निधो रोजगारदाताको तजबिजका आधारमा हुन्थ्यो । अब देखि भने रोजगारदाताले अनिवार्य रुपमा किरिया बिदा दिनु पर्ने छ ।
मलेसिया र नेपालबीच सोमबार भएको श्रम सम्बन्धी समझदारी पत्र (एमओयू)मा किरिया बिदाबारे उल्लेख छ । श्रम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब नेपाली कामदार शुन्य लागतमा मलेसिया जान पाउने छन् ।
विभिन्न बहानामा नेपाली कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि कामदार पठाउन रोकेपछि नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको हो ।
श्रम सम्झौतामा सस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरान आइतबार नेपाल आएका थिए ।
सोमबार काठमाडौंको होटल हायातमा आयोजित एक समारोहमा मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरान र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम सम्झौतामा हस्ताक्षर गरेका छन । सन् २००२ देखि कामदार लैजान थालेको मलेसिया र नेपालबीच पहिलो पटक श्रम सम्झौता भएको हो ।