‘कर नतिरे समृद्धिको बाटो बन्द हुन्छ’ : अर्थमन्त्री खतिवडा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर १, शनिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १,काठमाडौँ । सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरे । उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले कर नतिरे समृद्धिको बाटो अवरुद्ध हुने बताउनुभएको छ । आम्दानीअनुसार सबैले कर तिर्नुपर्ने बताउँदै अर्थमन्त्री खतिवडाले सबैभन्दा थोरै आम्दानी गरेर कर तिर्ने करदाता पनि उत्तिकै सम्मानित व्यक्ति हो भनेर चेतना जगाउनु जरुरी रहेको बताए ।

“हामीले कर तिरेनौँ भने समृद्धिको बाटो बन्द हुन्छ खतिवडाले भने, आम्दानीअनुसार कर तिर्नुपर्छ भनेर चेतना जगाऔँ ।” उनले स्वच्छिक कर सहभागितामा जानुपर्ने उल्लेख गर्दै मुद्दा मामिला र हतकडी लगाउनुपर्ने अवस्था आउन नदिन व्यवसायी सचेत हुनुपर्नेमा जोड दिए ।

अनलाइनबाट कर तिर्ने प्रणालीको विकासमा सरकार लागेको उनले जानकारी दिए । कर सहभागिता बढाउन सहकार्य र एक अर्काप्रति सम्मान गर्नुपर्नेमा उनको जोड थियो । राज्यको आँखाबाट कोही नछुटने भन्दै उनले उपभोक्ताको हितमा प्रतिकूल नहुने गरी कर प्रणालीलाई व्यवस्थापन गर्न सरकार लागेको बताए । करको दर नभई दायरा बढाउनेतर्फ ध्यान केन्द्रित भएको समेत अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

अर्थमन्त्रालयका सचिव राजन खनालले कर सुधारको विषयमा सरकारले अभ्यास गरिरहेको भन्दै पछिल्ला केही वर्षदेखि परिवर्तन देखिएको जिकिर गरे ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर प्रणाली उद्योगमैत्री बनाउँदै औद्योगिक क्षेत्रमा लगानीको वातावरण निर्माणतर्फ सरकारको ध्यानाकर्षण गराए ।

कर तिर्नका लागि जागरण ल्याउन सरकारसँग सहकार्य गर्ने व्यवसायी तयार रहेको उनीहरुको भनाइ थियो । सम्मानित करदाताकातर्फबाट मन्तव्य राख्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि कर तिर्ने दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले करदातालाई जागरुक बनाउनेतर्फ ध्यान दिँदै सरकारको आर्थिक नीति र राजश्व परिचालन नीतिलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताए । उनले करदाताको बृहत्तर सहभागितका लागि बृहत्तर छुट सुविधासहितका कार्यक्रम ल्याएकाले त्यो अवसर नगुमाउनसमेत करदातालाई आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस