मंसिर १६, काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृति लागि वैदेशिक रोजगार कार्यालयले आइतबारदेखि अनलाईन टोकन प्रणाली लागू गरेको छ ।
यो प्रणाली लागू भएसँगै वैदेशिक रोजगारीमा जाने कामदारहरुले अनलाईन फारम भरेर श्रम स्वीकृत दिने तिथि प्राप्त गर्ने छन् । जसका कारण एकातर्फ वैदेशिक रोजार कार्यालयमा भीडभाड कम हुने छ भने अर्कोतर्फ कामदारलाई पनि सहज हुने छ ।
वैदेशिक रोजगारीको भिसा पाईसकेका कामदारहरुले वैदेशिक रोजगार कार्यालयको वेबसाईटमा गई वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली (एफईएमएस) मा उपलब्ध हुने फारम भरेर श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्ने छ । उक्त फारम भरेपछि कामदारहरुले टोकन नम्बर प्राप्त गर्नेछन् । जसको आधारमा कामदारहरु तोकिएको मिति र स्थानमा कार्यालयमा गएर श्रम स्वीकृति वापतको दस्तुर तिरेर श्रम स्वीकृति लिन सक्ने छन् । यो प्रणाली सुरु भएपछि वैदेशिक रोजगारीमा जानेहरुले लाईन बस्नुपर्ने बाध्यता अन्त्य भएको वैदेशिक रोजगार कार्यालयका निर्देशक देवेन्द्र कार्कीले बताए ।
यो प्रणाली अन्तर्गत प्रत्येक दिन ९ सय जनाले टोकन लिन सक्ने जनाइएको छ । अनलाईन फारम भरेर टोकन लिनेहरु पनि लाइन बस्नु नपरेकाले सहज भएको बताउँछन् ।
तर पुनः श्रम स्वीकृती प्राप्त हुने तिथि भन्दा अगावै विदेश उड्ने टिकट भएकाहरु भने अन्योलमा परेका छन् ।