पौष १६, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी दिइने प्रतिवद्धता व्यक्त गरेका छन्।
अर्थ मन्त्रालयमा सोमबार नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खतिवडाले व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकमको यकिन विवरण प्राप्त नभएकाले समस्या आएको बताए।
‘अब केही दिनमा सबै विवरण प्राप्त भए लगत्तै व्यवसायीको रकम भुक्तानी हुन्छ, काम गरेको भुक्तानी दिन बजेटको अभाव छैन’, मन्त्री डा खतिवडाले भने।
महासङ्घ अध्यक्ष रवी सिंह नेतृत्वको प्रतिनिधिमण्डलले भुक्तानी तथा करमा ब्याज र हर्जाना छुटका विषयमा अर्थमन्त्री डा. खतिवडाको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि आग्रह गरेको थियो।
सरकारी निकायबीच समन्वय नहुँदा निर्माण व्यवसायीको काममा पाइलैपिच्छे समस्या आएकोतर्फ पनि महासङ्घका प्रतिनिधिमण्डलले अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराए। प्रतिनिधिमण्डलले सङ्घीय, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका विभिन्न सडक, भवन, पुल लगायतका परियोजनाहरु हस्तान्तरण गरेको जानकारी गराएको छ।
परियोजनाहरुको निर्माणाधीन अवस्थामा हस्तान्तरण गर्दा निर्माण व्यवसायीलाई निर्माण कार्य सञ्चालन गर्ने र निर्माण कार्य सम्पन्न भई बिल समेत पेश गरेका आयोजनाहरुको भुक्तानी नहुने वातावरण सृजना भएकातर्फ महासंघका अध्यक्ष सिंहले मन्त्री डा. खतिवडाको ध्यानाकर्षण गराए।
ती निर्माण कार्यको भुक्तानी हुन धेरै रकम बाँकी रहेकाले परियोजनाहरु सम्पन्न नहुन्जेल र भुक्तानी नभएसम्म केन्द्रीय स्तरबाट नै भुक्तानी हुने गरी व्यवस्थापनका लागि अध्यक्ष सिंहले आग्रह गरे। रासस