माघ १८,कैलाली । बैंकहरुले उद्योग धन्दा नै बन्द हुने गरी ऋणको ब्याज बढाएको भन्दै शुक्रबार धनगढीमा विरोध गरिएको छ । मनोमनि रुपमा ब्याजदर बढाएको भन्दै कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा विरोधको आयोजना भएको हो ।
उनीहरुले बैकले बढाएको ब्याजदरले उद्योग बन्द हुने अवस्थामा पुगेकाले जतिसक्दो चाँडो ८ प्रतिशतमा ब्याज झार्न माग गरेका छन् । चर्को ब्याजदरका उद्योग, व्यवसाय संकटग्रस्त अवस्थामा पुगेको उनीहरुको भनाई छ ।
औद्योगिक क्षेत्रका राहतका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि उद्योग व्यवसाय क्षेत्रहरुमा बैंकहरुबाट हुने लगानीमा बैंकको बढ्दो र चर्को ब्याजदर नियन्त्रण गरिनुपर्ने उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य गोपाल हमालले बताए ।
बैंकिङ कालोबजारी बन्द गरी व्यवसायीहरुका लागि तोकिएकै ८ प्रतिशत ब्याजदर कायम गरिनुपर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको भनाई छ । उनले अहिले बैंकहरुले १४ प्रतिशतभन्दा बढी ब्याज विभिन्न बहानामा लिँदै आएको बताए । तरलता अभाव र ब्याजदर वृद्धिको समस्या हल गर्न सरकार, राष्ट्र बैंक र सरोकारवालासँग ब्यवसायिले आग्रह गरेका छन् ।
ब्याजदरमा एकरुपता नआउँदा बेरोजगारी बढ्ने, महंगी तथा देशकै अर्थतन्त्रमा कमी आउने बताउँदै कैलाली उद्योग वाणिज्य सघका उपाध्यक्ष पुस्कर ओझाले सरकार गम्भीर हुन जरुरी रहेको बताए ।
संघले पहिलो चरणको आन्दोलन धनगढी चौराहदेखि कैलाली उद्योग वाणिज्य संघको परिसरसम्म मौन प्रदर्शनसमेत गरेको छ । व्यवसायीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन । सरकारले आफूहरुको मागको सम्बोधन नगरे उद्योग व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।