फागुन ६, काठमाडौं । पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ। प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
सो अवधिमा शेयर बिक्री नभएमा आगामी चैत १२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता आयोजना प्रभावितलाई बिक्री गरेको भए पनि सात लाख ८७ हजार ७५० कित्ता शेयर बिक्री हुन सकेको थिएन ।
कम्पनीले कर्मचारीलाई ३५ हजार पाँच कित्ता र सामूहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा प्रणालीमार्फत आवदेन दिनसक्ने व्यवस्था गरिएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
केयर नेपाल रेटिङले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औशतभन्दा कमजोर रहेको जनाएको छ । कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
प्रभु बैंकको शेयर मूल्य समायोजन
प्रभु बैंकले आज शेयर मूल्य समायोजन गरेको छ । बैंकले आठ प्रतिशत शेयर लाभांश दिएलगत्तै आज प्रतिकित्ता रु २१० मा मूल्य समायोजन गरेको हो। बैंकको औशत आधार मूल्य २७२ रुपैयाँ रहेको छ । यस्तै नेपाल स्टक एक्सचेञ्जमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख ४० हजार ४९८ बराबरको शेयर लाभांश सूचीकृत भएको छ ।
शिवम् सिमेन्टको साधारण शेयरको बिक्री शुरु
वास्तविक क्षेत्रसमेत पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि आकर्षित भएका छन् । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा नै वास्तविक क्षेत्रलाई समेत धितोपत्र बजारमा प्रवेश गराउने लक्ष्य राखेका कारण ती क्षेत्रले धमाधम साधारण शेयर बिक्री गर्न लागेका हुन्।
यसै क्रममा शिवम् सिमेन्टले आजदेखि ४६ लाख ९९ हजार ६४० कित्ता शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता र मकवानपुरवासीका लागि पाँच लाख ७९ हजार ६४० कित्ता शेयर बिक्री शुरु गरेको हो।
उक्त शेयरमा सर्वसाधारण तथा मकवानपुरवासीले कम्तीमा ५० कित्ताका दरले आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
यस्तै मकवानपुरबासीले पाँच लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्नसक्ने व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सि–आस्वा र आस्वा प्रणाली लागू गरेको बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ।
आयोजना प्रभावितलाई भने मकवानपुरवासी भएको खुल्ने नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रका आधारमा सि–आस्वा प्रणालीमार्फत निवेदन गर्नसक्ने प्रावधान राखिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि अङ्कित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँ र मकवानपुरवासीका लागि अङ्कित मूल्य एक सया रुपैयाँ प्रिमियम १०० रुपैयाँ सहित प्रतिकित्ता २०० रुपैयाँका दरले शेयर खरीद गर्न पाउने व्यवस्था गरिएको छ।
कम्पनीको साधारण शेयर छिटोमा यही फागुन ९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
तोकिएबमोजिमको शेयर बिक्री नभएमा आगामी चैत ५ गतेसम्म आवेदन पाइनेछ । रासस